४ असार २०८०, सोमबार
काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या दिन प्रति दिन वृद्धि भएको छ ।
स्वदेशमा उच्च शिक्षाको गुणस्तर र आकर्षक नभएकै कारण बर्षेनि हजारै विद्यार्थी उच्च शिक्षाकै लागी विदेशीने गरेका छन् । आर्थिक बर्ष २०७९\८० मा मात्रै एक लाख भन्दा धेरै विद्यार्थीले वैदेशिक अध्ययनका लागी नो अब्जेक्सन सर्टिफिकेट लिएका छन् ।
बैदेशिक अध्ययन अनुगमन शाखाको यस तथ्यांकलाई हेर्ने हो भने केहि बर्ष पछि नेपालका विश्वविद्यालयमा विद्यार्थी नै नहुने हो कि भन्ने देखिएको छ । एक
औलामा गन्न सकिने केही बाहेक नेपालमा सरकारी विद्यालय वा कलेजहरुको शैक्षिक गुणस्तर दयनीय नै छ ।
सरकारी विद्यालय वा कलेजहरुको विकल्पमा रहेका नीजि विद्यालय र कलेजहरुको शूल्क आम नागरिकका लागि धानि नसक्नु छ ।
यति हुँदाहुँदै पनि घरखेत बेचेरै होस् या अभिभावक वैदेशिक रोजगारीमा गएर भएपनि आफ्ना सन्तानलाई जसोतसो अध्ययन गराइरहेका छन् । तर लाखौ खर्चिएर अध्ययन पुरा गरेपछि पनि भनेजस्तो काम नपाउँदा धेरैले बेरोजगार नै बस्नु पर्ने अर्को सकसपूर्ण अवस्थाको त कुरै नगरौँ ।
बल्लतल्ल पाएको जागिरले पनि न्यूनतम आवश्यकता पुरा गर्नै कठिन छ । यी विविध कारणले गर्दा अहिले युवा पुस्तामा स्वदेश र स्वदेशी शिक्षा प्रति आकर्षण घट्दै गएको छ ।
१२ कक्षा उतिर्ण गर्ने बित्तिकै अधिकांसको उद्देश्य जसरी हुन्छ विदेश जाने र उतै बस्ने रहेको छ । नेपालमा अवसर र सुविधाजनक जीवनयापन गर्ने वातावरण नभएकै कारण वर्षेनी नेपाली विद्यार्थी बाहिरिने क्रम दिन दुगुना रात चौगुनाको दरमा बढिरहेको छ । यो रफ्तार पछिल्ला केही वर्षयता झनै बढेर गएको छ ।
वैदेशीक अध्ययन अनुमति शाखाका अनुसार आर्थिक बर्ष २०७९\८० मा मात्रै एक लाख भन्दा धेरै विद्यार्थीले वैदेशीक अध्ययनका लागी स्वीकृति अर्थात नो अब्जेक्सन सर्टिफिकेट लिएका छन् ।
नेपालमा त्रिभूवन विश्वविद्यालय सहित १६ वटा विश्वविद्यालय अन्तर्गतका सयौँ कलेजहरु सञ्चालनमा छन् । तर पनि उच्च शिक्षाका लागि नेपाली विद्यार्थीको पहिले रोजाई विदेशी विश्वविद्यालय नै हुने गरेको छ ।
नेपालका विश्वविद्यालय विद्यार्थीको पहिले रोजाइमा नपर्नूमा शैक्षिक प्रणाली र गुणस्तर नै प्रमुख कारण रहेको शिक्षाविद्हरु बताउँछन् ।
त्यसो त नेपाली विश्वविद्यालयको शैक्षिक प्रणाली पनि विद्यार्थीलाई अत्यास लाग्ने किशिमको छ । एकाध विश्वविद्यालय छोडेर अधिकांसको न समयमा परीक्षा हुन्छ, न त नतिजा प्रकाशन नै ।
यसले पनि विद्यार्थीमा स्वेदशमै अध्ययन गर्नु भन्दा विदेश जानु नै ठीक हो भन्ने मान्यता स्थापित हुँदै गएको छ । बाहिरको तुलनामा नेपालमा हुने अध्ययन अध्यापनको शैली पनि उही पुरानै घोकन्ते ढाँचाको रहेको छ । डिग्री सकाएर हातमा सर्टिफिकेट बोकेर हिड्न बाहेक हाम्रा विश्वविद्यालयको शिक्षा निर्वाहमुखी र व्यवसायिक छैनन् ।
नेपालमा पढाइका साथ साथै रोजगारीको चिन्तनको नभएको शिक्षाविद्को बुझाइ छ । विद्यार्थी पलायनसँगै हरेक वर्ष राज्यबाट अर्बौ रुपैयाँ बाहिरि रहेको पनि छ । १६\१७ खर्बका वार्षिक बजेट बनाउने देशमा वर्षेनी १ खर्ब नजिकको रकम वैदेशिक शिक्षाका बाहिरिने गरेको छ ।
वर्षेनी १० खर्बभन्दा बढि व्यापार घाटा झेलिरहेको नेपालका लागि उच्च शिक्षाका लागि भन्दै बाहिरिने यो रकम वास्तवमै डरलाग्दो आँकडा हो ।
त्यसो त राज्यले सबैभन्दा ठूलो लगानी शिक्षामै गरिरहेको छ । सरकारले आर्थिक बर्ष २०८०\८१ का लागी शिक्षामा १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरेको छ । तर लगानी अनुसारको गुणस्तरीय शिक्षाको अभाव र विद्यार्थीको पलायनले राज्यको ठूलो लगानी बालुवामा पानी बन्दै गइरहेको छ । यही अवस्था आइरहे यहाँका विश्वविद्यालयहरुमा विद्यार्थीविहिन नआउँला भन्न सकिन्न ।News 24