अरुणकुमार नेपाली
१५ असार २०८० शुक्रबार
दाङ—दाङ जिल्लाको कान्छो ‘उपत्यका’ले चिनिने तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ को फुलबारी (तुही उपत्यका)मा सडक खुलेको झण्डै दुई दशकपछि कालोपत्रेको काम सुरु भएको छ ।
राप्ती राजमार्ग अन्तर्गत सानो लेकदेखि ढल्केबरसम्म करिब ३ किलोमिटर सडक कालोपत्रे गर्ने काम यो वर्षदेखि सुरु भएको तुलसीपुर उपमहानगरपालिका १३ नं.का वडाध्यक्ष मोहन पौडेलले जानकारी दिए ।
गत वर्ष संघीय सरकारले विनियोजन गरेको बजेटबाट ढल्केबरदेखि पुरानो भट्टी घरसम्म ८ सय ७५ मिटर र तुलसीपुर उपमहानगरपालिकाबाट विनियोजित बजेटबाट सानो लेकदेखि गिधनिया गाउँसम्म २ किलोमिटर सडक कालोपत्रेको काम सुरु भएको वडाध्यक्ष पौडेलले वताए ।
सडक पूर्वाधार विकासको दृष्टिकोणले तुलसीपुर उपमहानगरपालिका १३ नं. निकै पछाडि परेको वडा हो ।विगतमा सडक कालोपत्रेको चर्चा निकै चले पनि काम हुन सकेको थिएन । सडकको स्तरोन्ती नहुँदा यहाँका नागरिकले बर्षौदेखि सास्ती व्यहोर्दै आईरहेका छन् ।खास गरी बर्षायाममा वडाबासीले समस्या भोग्नु पर्ने बाध्यता छ ।
आगामी पाँच वर्ष भित्र सानो लेकदेखि पनालीबोटसम्म सडकको कालोपत्रे गरिसक्ने योजनाका साथ वडा सरकार अघि बढेको वडाध्यक्ष पौडेलले बताए ।तुही उपत्यकालाई सडक सञ्जालमा जोड्न आवश्यक पर्ने बजेट व्यवस्थापनका लागी संघीय र प्रदेश सरकारसंग वडा सरकारले पहल गरिरहेको पनि अध्यक्ष पौडेलले वताए । ‘वडाबासीको मूल समस्या भनेकै सडक हो,’अध्यक्ष पौडेलले भने—आगामी पाँच वर्ष भित्र लक्ष्य र जनताको चाहना अनुसारको सडक कालोपत्रे गर्ने काम गरिसक्छौ।’