१५ असार २०८०, शुक्रबार
काठमाडौं : सरकारले मन्त्रिपरिषद्को विधेयक समितिबाट पेस भएको सवारी तथा यातायात व्यवस्था नवौं संशोधन नियमावली, २०८० स्वीकृत गरेको छ।
असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज (शुक्रबार) सार्वजनिक गर्दै सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन्।
२०८० असार २४/२५ गते चीनको बेइजिङमा आयोजना हुने फोरम एण्ड ग्लोबल एक्शन से डेभलपमेन्टमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठलाई स्वीकृत दिने, रास्कोट नगरपालिका-६ कालिकोट,नरहरीनाथ गाउँपालिका-२ कालिकोट, राप्ती सुन्दरी गाउँपालिका-४ बाँके, रम्बा गाउँपालिका-३ पाल्पा, सितगंगा नगरपालिका-१३ अर्घखाँची, जगरनाथपुर गाउँपालिका-५ पर्सा र महागढीमाई नगरपालिका-५ बारा गरी ७ स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने, २०८० साल साउन ८ देखि १० गतेसम्म संयुक्त अरब इमिरेट्स अबुधाबीमा हुने अन्तर्राष्ट्रिय सौर्य संगठन आइएसए क्षेत्रीय समितिको पाँचौं बैठकमा ऊर्जा‚ जलस्रोत तथा सिंचाइ मन्त्रीलाई सहभागी हुन स्वीकृत दिने निर्णय गरेको छ।
सरकारले सिराहा जिल्ला साविकको लभकुली गाविसको १ बिगा १० कट्ठा जग्गा कर्जना नगरपालिकालाई १५ शय्याको अस्पताल निर्माण गरी सञ्चालन गर्न स्वीकृत दिने, ललितपुर जिल्ला साविक झरुवाराशी गाविसको ९ हजार ५०० रोपनी सरकारी जग्गामध्ये ४ हजार १३३ रोपनी सार्वजनिक प्रकृतिको जग्गा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई अस्पताल भवन निर्माण गर्न स्वीकृत दिने निर्णय गरेको छ।
मन्त्री शर्माले सरकारले सार्वजनिक सडकसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको अवधारणा पत्रअनुसार कानून तर्जुमा गर्न स्वीकृति दिने, अजरबैजानको बाकुमा असार २० र २१ मा आयोजना हुने असंग्लन राष्ट्रहरुको मन्त्रीस्तरीय बैठक र २०८० असार १८ र १९ मा आयोजना हुने उच्च अधिकारीको बैठकमा नेपालको नेतृत्व गर्न परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको जानकारी दिइन्।
जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ क बमोजिम गुर्वाकोट नगरपालिका सुर्खेत, मंगला गाउँपालिका म्याग्दी, चैनपुर नगरपालिका संखुवासभा, गुजरा नगरपालिका रौतहट, मुसीकोट नगरपालिका गुल्मी र मालिका गाउँपालिका म्याग्दीको परियोजनाको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय पनि क्याबिनेटले गरेको छ।
२०८० साल असार २० गतेदेखि २२ गतेसम्म गणतन्त्र कोरियाको बुसानमा आयोजना हुने २०२३ ग्लोबल मिटिङमा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारी, बर्दियालाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ। क्याबिनेटले मन्त्रिपरिषद्को विधेयक समितिबाट पेस भएको सवारी तथा यातायात व्यवस्था नवौं संशोधन नियमावली, २०८० स्वीकृत गरिएको छ।