१५ असार २०८०, शुक्रबार
काठमाडौं : नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली काँग्रेस पार्टीलाई जनताले भ्रष्टाचारको संरक्षकका रुपमा चिन्न थालेका बताएका छन्।
शुक्रबार नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले काँग्रेसलाई जनताले भ्रष्टाचारको संरक्षकको रुपमा चिन्न थालेको बताएका हुन्। उनले कांग्रेसलाई जनताले विकृति र मनपरितन्त्रको संवाहकको रुपमा पनि चिनेको बताए।
उनले जनताहरु निराश भएर विकल्प खोजिरहेका भन्दै कांग्रेसको अहिलेको जस्तै नेतृत्व र विचार लिएर अगाडी बढेमा भविष्य चुनौतीपूर्ण हुने बताए।
उनले भने‚ ‘लाज नमानी भन्नुपर्दा अहिले हामीलाई यथास्थितिको प्रतिनिधिको रुपमा जनताले चिनेका छन्। भ्रष्टाचारको संरक्षकको रुपमा जनताले चिनेका छन्। विकृति र मनपरीतन्त्रको संवाहकका रुपमा हामीलाई चिनेका छन्। त्यसले गर्दा जनतामा निराशाको स्थिति र अरु के विकल्प छ भनेर खोजीरहेका छन्। जनता विकल्प खोज्छन्‚ कसैलाई कुरेर बस्दैनन्। हामी अहिलेजस्तै नीति, अहिलेजस्तै नेतृत्व, अहिलेजस्तै विचार र अहिलेजस्तै बासी बानी, बासी प्रवृत्ति लिएर अगाडि बढ्यौँ भने आउने परिस्थिति काँग्रेसको निम्ति अत्यन्त चुनौतीपूर्ण हुन्छ र त्यो लोकतन्त्रको निम्ति पनि चुनौतीपूर्ण हुन्छ।’
नेता केसीले काँग्रेसभित्र वैचारिक पुनःजागरणको नयाँ क्रान्ति शुरु गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले आफूहरुले नयाँ विचार र दृष्टिकोणसहित सुध्रियौँ भन्ने सन्देश जनतालाई दिनुपर्ने बताए।
उनले भने‚ ‘नेपाली काँग्रेसभित्र वैचारिक पुनःजागरणको एउटा नयाँ क्रान्ति शुरु गर्नुपर्ने आवश्यकता छ। नत्र भने हामी गम्भीर चुनौतीको बेलामा छौँ। पार्टीभित्र आएका चुनौती, पार्टीभित्र लागेका दोषारोपणहरु, यो समग्र रुपबाट एक ठाउँमा उभिएर नयाँ विचार र दृष्टिकोणसहित हामी अब सुध्रियौँ है भनेर नेपाली जनतालाई भन्ने र हामीले जे गल्ती गरेका छौँ, यहाँनिर चाहीँ गल्ती भएको हो है अब हामी गल्ती गर्दैनौँ भनेर त्यो ढंगले जान सकेनौँ भने लोकतन्त्रलाई चुनौती छ। पार्टीलाई पनि चुनौती छ।’
उनले राष्ट्र र लोकतन्त्रलाई गति दिनको निम्ति पत्रकारिता क्षेत्रको ठूलो योगदान रहेको बताए। उनले सत्य र न्यायको निम्ति लेख्न र सत्यको बाटोमा हिँड्न पत्रकारहरुलाई आग्रह गरे।