१६ असार २०८०, शनिबार
रौतहट : जिल्लाको मौलापुर नगरपालिकामा आमा छोरी मृत अवस्थामा फेला परेका छन्। मौलापुर नगरपालिका-४ बौधा पतौराका धीरेन्द्र साहको २४ वर्षीय श्रीमती माला भन्ने कविता र उनकी १८ महिने छोरी आरोही झुण्डिएको अवस्थामा फेला परेका हुन्।
धीरेन्द्र र उनका बुबा भने फरार भएका छन्। शुक्रबार राति परिवारजनका सदस्यहरूले निर्घात कुटपिट गरेर झुण्याएर हत्या गरेको माइती पक्षले आरोप लगाएको छ।
तीन वर्षअघि सामाजिक रीतिरिवाजअनुसार माधवनारायण नगरपालिका-५ मिठुअवाका विजयशंकर साहले आफनो छोरीको बिहे धीरेन्द्रसँग गराएका थिए।
बिहेअघि कबोल गरेको दाइजो आर्थिक अवस्था कमजोर भएको कारण दिन नसकेको भन्दै उनले मोटरसाइकल, पलंग, भैंसी, सुनको सिक्री दिन पटकपटक छोरीमाथि दबाब दिएको बताए।
विजयशंकरका अनुसार राति ३ बजेको समयमा छिमेकीले फोन गरेर छोरीको हत्या भएको बताएपछि आफूले प्रहरीलाई खबर गरेको बताए। घटनापछि धीरेन्द्र र उनका बुबा फरार रहेको छ।
यता, जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढा मगर घटना भएको बताउँदै घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको तथा मृतकको श्रीमान र ससुराको खोजी कार्य जारी रहेको बताए।