१६ असार २०८०, शनिबार
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन् । साथै, एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले काँग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु आज एकसाथ संकटमा पर्न गएको उनको भनाइ ।
नेपाली काँग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफूले व्यक्ति नभई पार्टी नै बदल्ने कुरा गरेको बताए । डेमोक्रेसीमा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दावी गर्दै उनले काँग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको घोषणा गरे ।
‘संसारमा एउटा त्यस्तो देश मलाई बताई दिनुस्, जुन देशमा व्यक्ति, एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको देश मलाई बताईदिनुस् । कहीँ हुँदैन,’ उनले भने, ‘कुनै डेमोक्रेसीमा हुँदैन । नेपालमा आज किन पुरानो पार्टी संकटमा छन, थाहा छ ? काँग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको थुर्पै कारण मध्येको मूल कारण भनेको ती पार्टीको नेताहरु खासगरी पार्टीहरु जमेको पोखरी जस्तो भयो । कुनै व्यक्तिको दोष होइन । तर यस्तो कहीँ हुन्छ ? २० वर्षदेखि, २५ वर्षदेखि, ३० वर्षदेखि नेता नबदल्ने कुनै पनि पार्टी हुँदैन । सबै ठाउँमा हुन्छ । यो डेमोक्रेसीमा कि लगातार चुनाव जितेको जित्यै हुन्छ । पार्टीहरु त्यसरी बन्दैन । पोलिटिक्समा पनि एक्जिटको व्यवस्था गरिएको हुन्छ । हामी कहाँ एक्जिटको व्यवस्था गरिएन । आन्दोलनको बेलामा पनि एक्जिट हुँदैन । म उमेरको पनि कुरा गर्दिन । काँग्रेसमा हामीभन्दा पनि पाको एकसेएक जोश भएको, सोच भएको नेताहरु हुुनुहुन्छ । हामी अमेरिकाको बाईडेनको कुरा गर्छौं । उमेर पनि होइन । त्यही अमेरिकामा एउटा व्यक्ति दुई पटक भन्दा बढी राष्ट्रपति नहुने परम्परा पनि छ नि त ।’
दाग लागेको काँग्रेसको महामन्त्री बन्नुभन्दा सफा काग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको पनि उनले बताए । काँग्रेस बदलिए मात्रै देश बदलिने भएकाले काँग्रेस बदल्ने अभियानमा जुट्न उनले आग्रह समेत गरे ।
‘मैले नेपाली काँग्रेसभित्र विधि बसाल्ने, थिति बसाल्ने कुरा गरेको हो । किन एउटै व्यक्ति ५ पटक, ६ पटक प्रधानमन्त्री बन्ने ?’ उनले भने, ‘आजको दिनमा नेपाली काँग्रेसले आत्मनिन्दा गरेर, काँग्रेस सक्कियो भनेर छाति पिटेर, रोएर, कराएर, बौलाएर हिँडेर पनि केही हुँदैन । सक्किएको छैन । कसैले सक्काएर सकिदैन । राजाले सकेन, माओवादीले सकेन । बन्दुकले सकेन । कसले सक्छ ? सकिन्छ यो ? त्यसैले यो आत्मा निन्दा गरेर पनि नहिँडौं । हामीलाई कसैले सक्दैन भन्ने त्यो अहंकार पनि नराखौं । नेपाली काँग्रेसले आत्म निन्दा गरेर पनि हुँदैन । अहंकार पालेर पनि हुँदैन । काँग्रेसले आजको दिनमा गर्नुपर्ने भनेको आत्मा अवलोकन हो । आफ्नो बारेमा समिक्षा गर्नु पर्यो । काँग्रेस बदलियो भने बदलिएको काँग्रेसले देश बदल्छ हेर्नोस् । यो देश बदल्नै पर्छ । बदलिएको काँग्रेसले मात्रै यो काम गर्न सक्छ । तर काँग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ । म बदलिन तयार छु । म बदलिन तयार छ भनेको मैले पटकपटक भनेको छु–दाग लागेको काँग्रेसको महामन्त्री हुनु भन्दा सफा काँग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ ।’
महामन्त्री थापाले काँग्रेस सक्कियो भनेर नआत्तिन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दै आफू बदलिएर देश बदल्ने अभियानमा सबै नेता–कार्यकताए जुटनुपर्ने बताए ।