अरुणकुमार नेपाली
१७ असार २०८० आइतबार
दाङ—गाउँको सडक कहिले कालोपत्रे होला ?सायद यो जुनिमा गाउँको बाटो राम्रो भएको देख्न पाइदैन कि क्या हो ? यो प्रश्न तुलसीपुर १३ का ५८ वर्षिय तुलाराम न्यौपानेले आफैलाई बारम्बार गरिरहन्थे ।बाटो बन्ने आशामा उनले दशकौ विताए ।
तर अहिले गाउँमा सडक कालोपत्रेको काम सुरु भएपछि न्यौपाने निकै हर्षित छन् ।उनि भन्छन्,सडकको अवस्था राम्रो नहँुदा विगतमा धेरै सास्ती पाइयो,गाउँको बाटो कालोपत्रे हुने भयो निकै खुशी छु ।
सोही ठाउँकी कमला नेपाली पनि गाउँको बाटो कालोपत्रे हुने भएपछि खुशी हुदै भन्छिन् हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुने सडकबाट अब मुक्ति पाइने भयो । दाङ जिल्लाको कान्छो (तुही ) उपत्यकाले चिनिने तुलसीपुर उपमहानगरपालिका वडा नं १३ फुलबारीको दामोदर सडक खण्डमा यो वर्षदेखि सडक कालोपत्रेको काम सुरु भएपछि यहाँका स्थानीय खुशी भएका हुन् ।
राप्ती राजमार्गसंग सीमा जोडिएको उक्त सडक खण्डको सानो लेकदेखि पुरानो भट्टी घर चोकसम्म करिब ३ किलोमिटर सडकको पहिलो चरणमा कालोपत्रेको काम सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिकाले विनियोजन गरेको बजेटबाट सानो लेकदेखि गिधनिया गाउँसम्म २ किलोमिटर र संघीय सरकारले उपलब्ध गराएको बजेटबाट ढल्केवरदेखि पुरानो भट्टी घर चोकसम्म ८ सय ७५ मिटर सडक पहिलो चरणमा कालोपत्रे हुने तुलसीपुर उपमहानगरपालिका १३ नं.का वडा अध्यक्ष मोहन पौडेलले वताए । उक्त सडक खण्डमा अहिले कालोपत्रेको काम धमाधम भइरहेको छ ।
सडक पूर्वाधार विकासको दृष्टिले तुही उपत्यका निकै पछाडि परेको उपत्यका हो । अहिले पनि यहाँको सडक अवस्था निकै कमजोर रहेको छ ।विशेष गरी यस उपत्यकाको पूर्वी भेगको सडक निकै कमजोर रहेको छ ।जसका कारण नागरीकले सडक राम्रो नभएकै कारण बढी सास्ती व्यहोर्दै आइरहेका छन् ।
वर्षाको समयमा यातायात ठप्प हुँदा पूर्वी भेगका नागरीकले कष्टपूर्ण यात्रा गर्नुपर्छ ।आगामी पाँच वर्षभित्र पश्चिम सानो लेक हुँदै पूर्वमा पनालिबोटसम्म सडक कालोपत्रे गरिसक्ने वडाध्यक्ष पौडेलले वताए । सानो लेकदेखि पनालिबोटसम्म उक्त सडक खण्डको लम्बाई १७ किलोमिटर रहेको छ ।यो वर्षदेखि कालोपत्रेको पहिलो चरणको काम सुरु भएकोले अब प्रत्येक वर्ष यसले निरन्तरता पाउने वडाध्यक्ष पौडेलले वताए ।