१८ असार २०८० सोमबार
काठमाण्डौ— राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसईई) २०७९ को नतिजा लेटर ग्रेडिङ निर्देशिका —२०७२ अनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ ।
बोर्डको सोमबार बसेको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डां महाश्रम शर्माले जानकारी दिए ।
नयाँ निर्देशिका पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशत भन्दा कम अङ्क ल्याउनेलाई ‘नन ग्रेडेड’ मा राख्ने व्यवस्था रहेको छ ।यस वर्ष पुरानै पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन भएकाले नतिजा पनि पुरानै व्यवस्थाअनुसार सार्वजनिक गर्ने शर्माले वताए । कक्षा १२ मा भने लेटर ग्रेडिङ निर्देशिका —२०७८ कार्यान्वयन भइसकेको भन्दै उनले अर्को वर्षदेखि एसईईमा पनि नयाँ व्यवस्था लागु हुने जानकारी गराए ।
एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि भोलि बोर्ड बैठक डाकिएको छ । सकेसम्म बिहीवार यदि प्राविधिक कारण नसकेमा शुक्रबार नतिजा सार्वजनिक गर्ने तयारी रहेको अध्यक्ष शर्माले जानकारी दिए ।
विद्यार्थीले प्राप्त गरेको नतिजा रुजु र इन्ट्री गर्ने अन्तिम काम भईरहेकाले नतिजा सार्वजनिक गर्न केही समय लाग्ने बोर्डले जनाएको छ । गएको चैत १७ गतेदेखि सञ्चालित परीक्षामा देशैभरका जम्मा ४ लाख ८५ हजार ३ सय ९६ जना विद्यार्थी सहभागि भएका थिए ।