२० असार २०८०, बुधबार
काठमाडौं :– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक प्रधानमन्त्रीसँग जवाफ माग्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक-पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले आपत्ति जनाउँदै जवाफ माग्न लागेको हो।
नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा एमालेले अवरोध गर्ने तयारी समेत गरेको छ। संसद बैठक अगाडि एमालेले संसदीय दलको बैठकसमेत बोलाएको सचेतक महेश बर्तौलाले जानकारी दिए।
उनले अन्नपूर्ण पोस्टसँग भने,‘प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बनाउन प्रीतम सिंह पटक-पटक दिल्ली गएको भनी दिएको अभिव्यक्ति दिनुभएको छ। संसद्ले बनाएको प्रधानमन्त्रीले यो देशमा प्रधानमन्त्री बन्न उहाँले दिल्लीले हाबी हुन्छ भन्ने भाष्य स्थापना गर्नुभयो, यो विषयमा हामी संसदमा उठाउँछौं। यो सामान्य विषय होइन। हामी बेखबर भएर बस्न सक्दैनौं।’
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा पनि चर्को आलोचना भइरहेको छ।