२०८० असार २१ गते १५:२७
काठमाडौं:— जबर्जस्ती करणीको कसूरमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक जना कर्मचारी पक्राउ परेका छन । पक्राउ पर्नेमा दाङ घर भई राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सूचक दामोदर पौडेल रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।पौडेललाई पीडितले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको हो ।
काठमाडौं प्रहरीका एसपी सीताराम रिजालका अनुसार पीडितले दिएको किटानी जाहेरीका आधारमा पौडेललाई पक्राउ गरेर काठमाडौं प्रहरी अन्तर्गतको महिला सेलले थप अनुसन्धान गरिरहेको छ ।
सामाजिक सञ्जालमार्फत सम्पर्कमा नजिकिएका पौडेलले प्रेमको नाटक गरी विवाह गर्छु भन्दै वि.सं २०७८ माघ २१ डेरा गई इच्छा विपरीत करणी गरेको पीडितको जाहेरीमा उल्लेख छ । पौडेलले विभिन्न डर, धाक, धम्की र प्रलोभन देखाउदै नजिकिएर आफूलाई बलात्कार गरेको पीडितको जिकिर छ ।विवाह विषयमा कुराकानी गर्दा पौडेलले कहिले परिवारसँग सल्लाह गर्छु भन्दै त कहिले आफ्नो जन्ममिति समेत दिएर लगन हेर्न लगाउदै आलटाल गरेको पीडितले बताइन् ।
पछि घरपरिवारले थाहा पाएर सम्पर्क गर्दा उनले फोन नउठाउने र म्यासेन्जरबाट मात्र कुरा गर्ने गरेका थिए ।पीडित युवतीका अनुसार गत १६ भदौमा
आमालाई उपचारका लागि काठमाडौं ल्याएको बेलामा पनि पौडेलले डेरा कोठामा आएर जबर्जस्ती करणी गरेका थिए ।
प्रहरीले यस प्रकरणमा अनुसन्धान अघि बढाएपछि राष्ट्रिय अनुसन्धान विभागले उनलाई निलम्बन गरेको छ । प्रहरीका अनुसार पौडेल कानुन व्यवसायी समेत हुन् ।