२२ असार २०८०, शुक्रबार
काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पाँच जना पूर्वसचिवसहित ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेश अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी गरिएको हो । छविराज पन्त पूर्वमन्त्रीसमेत हुन् ।
पाँचै जना तत्कालीन सचिवहरू नीतिगत निर्णयका आधारमा अनुसन्धानमा तानिएका हुन् । ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने गरी भएका निर्णयमा उनीहरुको संलग्नता देखिएकाले पक्राउ पूर्जी जारी गराएर प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
सो प्रकरणमा तत्कालिन १७ जना पूर्वसहसचिवविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ । पक्राउ पूर्जी जारी भएका तत्कालिन सहसचिवमध्ये सुधीर शाह हिरासतमा छन् भने कलाधर देउजा सर्वोच्चको आदेशबाट छुटेका छन् ।
पूर्व सचिव र सहसचिवहरुलाई प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, भौतिक पूर्वाधार, भूमिसुधार मन्त्रालयलगायतका मन्त्रालयमा रहँदा सरकारी जग्गा ब्यक्तिको नाममा लैजान सहयोग गरेको आरोपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
पक्राउ पुर्जी जारी भएकामध्ये कतिपयलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको छ भने कतिपयको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको बयानका आधारमा प्रहरीले थप ब्यक्तिहरुविरुद्ध पनि पक्राउ पूर्जी गराउने तयारी गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा संलग्नविरुद्ध मुलुक ऐन र संगठित अपराध निवारण ऐन बमोजिम अनुसन्धान गरिरहेको छ ।