२२ असार २०८०, शुक्रबार
काठमाडौँ :- राष्ट्रियसभा बैठक लगातार तेस्रो दिन (आज) पनि अवरुद्ध भएको छ । नेकपा एमालेका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै आज पनि बैठक सुरु हुनेबित्तिकै उठेर अवरोध गरेका हुन् ।
अब राष्ट्रियसभा बैठक असार २४ गते आईतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ ।
बैठकको सुरुमै बोल्दै एमालेकी सांसद विमला घिमिरेले आफ्नो पार्टीले कुनै आग्रह, पूर्वाग्रह र कुण्ठाले भन्दा पनि राष्ट्र र जनताको स्वाभिमान र संसदको गरिमाको रक्षा गर्नका लागि प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद बैठक चल्न नदिने अडान लिनुपरेको बताइन् । उनले प्रधानमन्त्रीले आफ्नो पदका लागि आत्मसमर्पण गरेकाले नेपाली जनतालाई शासित गर्ने अधिकार उनीसँग नरहेकोे घिमिरेको जिकीर छ ।
देशकै सम्माननित पदमा पुगेका प्रधानमन्त्रीले भारतीय नागरिक प्रितम सिंहबारे दिएको नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रियता, स्वाधिनता र भौगोलिक अखण्डता र नेपाली जनताको स्वभिमानमाथि आँच आउने गरी दिएको भन्दै उनले यो अभिव्यक्तिले सारा स्वाभिमानी नेपालीहरुको शीर झुकेको दावी गरिन् ।
‘प्रधानमन्त्रीको अभिव्यक्तिले आज हाम्रो सामाजिक सञ्जालमात्रै होइन । पूर्व मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म निकै विरोध भईरहेको छ,’ उनले भनिन्, ‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रियता, स्वाधिनता र भौगोलिक अखण्डता र नेपाली जनताको स्वभिमानमाथि आँच आउने गरी दिइइको यो अभिव्यक्तिले सारा स्वाभिमानी नेपालीहरुको शीर झुकेको छ । सम्माननीय अध्यक्षज्यू, यो भनाईले हाम्रो देशको सम्मानित संसद र सांसदहरुको समेत अपमान मात्र भएको छैन । यसले संविधानको धारा ५को समेत आकर्षित भएको छ । सम्माननीय अध्यक्षज्यूमार्फत् म सोध्न चाहन्छु– नेपालको प्रधानमन्त्री जनताद्वारा चुनिएको यो सार्वभौम संसदले बनाउने हो कि कतै दिल्लीलाई खुशी बनाएर पाउने हो ? के साँच्चै भारतका लागि कम्फर्टेबल सरकार दिल्लीबाटै बनेको हो त ? यो प्रश्न गम्भीर रुपले नेपाली जनताले उठाईरहेका छन् । हामीले कुनै आग्रह, पूर्वाग्रह र कुण्ठाले यो गरिमामय सदन अवरुद्ध गरिरहेका छैनौं । हामी त नेपालको सार्वभौमिकता र संसदको गरिमाको रक्षा गर्नु हाम्रो दायित्व हो भनेर यो भूमिका निर्वाह गरिरहेका छौं ।’
कहिले कसैको उपनिवेश नभएको मुलुकमा देशकै सम्माननित पदमा रहेर प्रधानमन्त्रीले दिएका आत्मसमर्पणवादी अभिव्यक्तिले एमालेको गम्भिर ध्यानाकर्षण भएको उनको भनाइ छ । उनले भनिन्, ‘यसमा हामी गम्भिर असहमती जनाईरहेका छौं । आफ्नै पदका लागि आत्मसमर्पण गर्ने प्रधानमन्त्रीद्वारा नेपाली जनतालाई शासित हुन दिन सक्दैनौं । त्यसैले प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार गमाई सक्नु भएका प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु पर्छ । राजीनामा नआएसम्म आजको कार्यसूचि फेरीपनि अगाडि नबढाईयोस् । म सम्माननीय अध्यक्षज्यूको ध्यान आकर्षण गराउनु चाहन्छु ।’
एमाले सांसदहरुले उठेर अवरोध गरेपछि अध्यक्ष गणेश तिमिल्सिनाले सदन सुचारु गराउन पटकपटक आग्रह गरेका थिए । तर आफ्नो अडानबाट एमाले सांसदहरु पछि नहटेपछि अध्यक्ष तिमिल्सिनाले असार २४ गते आईतबारसम्मका लागि सो बैठक स्थगित गरेका छन् ।