प्रदीप गुप्ता
२३ असार २०८० शनिबार
नेपालगञ्ज—नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट र नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।
नगरसभाको शनिबार बसेको १३ औं अधिवेशनको दोस्रो बैठकले बजेट र नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो ।
नगर प्रमुख प्रशान्त विष्टले निर्णायार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम,बजेट,आर्थिक विधेयक र विनियोजन विधेयक नगरसभाको बैठकबाट पारित भएको नगरप्रमुख विष्टले जानकारी दिए ।आगामी आर्थिक वर्षका लागि उपमहानगरले झण्डै १ अर्ब ६७ करोड बजेट विनियोजन गरेको छ ।जसमा उपमहानगरपालिकाले सामूहिक बस्ती विकास गर्ने योजना अघि सारेको छ ।
बसोबासलाई व्यवस्थित गर्न रिङरोडको विकाससँगै आसपासका जग्गाको ‘ल्यान्डपुलिङ’मार्फत जग्गा विकास गर्ने योजना उपमहानगरको छ ।
नीति तथा कार्यक्रममा विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने, गुणस्तरीय शिक्षामा जोड, स्थानीय पाठ्यक्रम कार्यान्वयन, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, योगमैत्री नगर बनाउने, पाँच वर्षभित्र क्षयरोगमुक्त उपमहानगर घोषणा गर्ने, जमुनाहानाकामा हेल्थडेस्क सञ्चालन गरी सरुवाजन्य रोगको रोकथाम, निगरानी र व्यवस्थापन गर्ने, राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक पहल गर्ने उल्लेख छ ।
यस्तै आगामी दुई वर्षभित्र १५ शय्याको आधारभूत अस्पताल सञ्चालनका लागि प्रदेश तथा सङ्घीय सरकारसँग पहल गर्ने, ६० वर्ष पुगेका स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन एवं सम्मानसहित बिदाइ गरिने, प्लास्टिकका झोलाको प्रयोगलाई न्यूनीकरण गर्ने, हरित नेपालगन्ज बनाउन सडकको दायाँबायाँ बिरुवा रोप्ने, श्रम सूचना बैंक स्थापना, रोजगार मेला सञ्चालन गर्ने, रोजगारी सिर्जना गर्ने, सहकारीको निरन्तर अनुगमन गरी नियमनको दायराभित्र ल्याइने, हामी सुधार्छौँ हाम्रो सहकारी भन्ने विशेष अभियानमा सम्पूर्ण सहकारीकर्मीलाई सामेल गराई सहकारी प्रतिको विद्यमान गुम्दो जनविश्वासलाई रोक्दै लैजाने समेत नीति कार्यक्रममा उल्लेख छ