काठमाडौं :- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गर्ने प्रकरणमा जोडिएका समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याललाई नियन्त्रणमा लिएको छ।
सीआइबीले उनीहरुलाई आज काठमाडौंबाट पक्राउ गरेको सीआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए। घिमिरेले समरजंग कम्पनीका प्रमुखको रुपमा रहेको बेलामा सरकारी जग्गा दाबी गर्नुपर्ने समयमा दाबी नगरेका कारण हिनामिनामा उनको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा देखिएपछि प्रहरीले पक्राउ गरेको हो। अर्याल भने नापी अधिकृतको रुपमा जग्गा नापजाँचमा संलग्न रहेको पाइएको सीआइबीले जनाएको छ।
ललितानिवास प्रकरणमा जोडिएका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यापारी मिनबहादुर गुरुङलगायत ९ जनालाई प्रहरीले यसअघि नै पक्राउ परिसकेका छन्। यस प्रकरणमा तीब्र अनुसन्धान अगाडी बढाइएको सीआइबीले बताएको छ।
यो प्रकरणमा सार्वजनिक पदधारण गरेका झण्डै डेढ सयभन्दा बढी पदाधिकारी र कर्मचारीहरु जोडिएका छन्। ललिता निवासको १४२ रोपनी जग्गा हडप्ने कार्यमा संलग्न रहेको भन्दै यसअघि नै प्रहरीले कम्पनीका पूर्वप्रमुख रमेशकुमार पोखरेललाई पक्राउ गरिसकेको छ।
यसप्रकरणमा अघिल्लो पटकको अनुसन्धानमा नै पक्राउ पूर्जी जारी भइसकेका व्यक्तिहरुमाथि थप अनुसन्धान गरि पक्राउ गरिएको प्रहरीले बताएको छ।