२४ असार २०८०, आईतवार
संखुवासभा :- संखुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्र मकालु गाउँपालिका–२ मा भालुको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा मकालु–२ का ३० वर्षीय रामबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक भुवनबावु खड्काले जानकारी दिए।
आइतबार बिहान १० बजे घर नजिकैको बारीमा काम गरिरहेका राईलाई भालुले आक्रमण गर्दा गम्भीर घाइते भएका हुन्। राईको अनुहार, टाउको, हात र ढाडमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ।
गम्भीर घाइते राईको प्राथमिक स्वास्थ्य केन्द्र मकालु–५ नुममा उपचार भइरहेको बताइएको छ। निकुञ्जका जंगली भालुको आक्रमणबाट यो वर्ष मात्र आधा दर्जनभन्दा बढी घाइते भइसकेका छन्। यो क्षेत्र राष्ट्रिय निकुञ्ज भएका कारण जंगली जनावरको आंतक बढेको स्थानीयको भनाइ छ।