२४ असार २०८० आइतबार
दाङ— खोलामा नुहाउने क्रममा डुबेर एक बालकको ज्यान गएको छ ।दाङको देउखुरी राप्ती गाउँपालिका —३ मा बस्दै आएका ६ वर्षिय खिमान बुढामगरको स्थानिय करम्दीखोलामा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
आइतबार दिउँसो करिब साढे तीन बजेको समयमा नुहाउने क्रममा बुढामगर खोलामा डुबेका थिए ।घाइते अवस्थामा रहेका बालकलाई भालुबाङ अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।रोल्पा सुनछहारी गाउँपालिका —३ घर भएका बुढामगर हाल राप्ती गाउँपालिकाको नयाँबस्ती मसुरीयामा हजुरआमाको घरमा बस्दै आएका थिए ।उनी अध्ययनको लागि हजुरआमाको घर देउखुरीमा आएका थिए।
मृतक नजिकैको सिद्वार्थ बोडिङ स्कुलमा कक्षा युकेजीमा अध्ययनरत थिए।साथीसंग नुहाउन गएका ती बालक खोलामा एक्कासी डुबेका थिए ।बालकको शवलाई पोष्टमार्टमका लागि अहिले लमही अस्पतालको शवगृहमा राखिएको छ ।