अरुणकुमार नेपाली
२४ असार २०८० आइतबार
दाङ—मानव अधिकार तथा शान्ति समाजले जातीय विभेद तथा छुवाछूतका विरुद्ध दाङमा प्रदर्शन गरेको छ ।केही दिन अघि दाङको घोराही र जुम्लामा भएको जातीय विभेद घटनाको विरोध गर्दै समाजले आइतबार तुलसीपुरमा विरोध प्रदर्शन गरेको हो ।
‘हाम्रो अभियान जातीय छुवाछूत विरुद्ध हो,छुवाछूत मानवता विरोधी अपराध हो।दण्डहीनता अन्त्य गर,हाम्रो लडाई सामाजिक न्यायका लागि हो ।’जस्ता प्लेकार्ड सहित समाजले प्रदर्शन गरेको थियो ।
प्रदर्शनपछि आयोजित कार्यक्रममा बोल्दै शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपालीले जातीय आधारमा हालै घोराहीमा र जुम्लमा भएको घटना मानवता विरोधी र निन्दनिय भएको वताए । उनले घटनामा संलग्न सबैलाई कानुनको दायरामा ल्याएर कारबही गर्न समेत माग गरे ।उनले परिवर्तित समाजमा यस्ता किसिमका घटना दोहोरिनु दुःखद भएको समेत बताए ।
शान्ति समाज दाङका कार्यवहाक सभापति कोमल डिसीको अध्यक्षतामा भएको कार्यक्रममा शाखा सल्लाहकार शरद रेग्मी,दलित अधिकारकर्मीहरु,युवा करारा,खेमराज विश्वकर्मा लगायतले जातकै आधारमा कसैलाई विभेद गर्नु मानव अधिकारको विश्वव्यापी मान्यता विपरीत भएको बताए ।
गत असार १५ गते घोराही—१७ का ताराप्रसाद पोखरेलले आफ्नो घरमा डेरा गरी बस्ने दुई जनालाई तल्लो जात भएको भन्दै घरबाट निकालेका थिए भने जम्लाको तातोपानी गाउँपालिका —४ का मुकुन्द नेपालीले सोही ठाउँकी वसन्ती गिरीसंग अन्तरजातीय विहे गरेकै कारण केटी पक्षले नेपालीको घरमा आगजनी गरेका थिए ।