३० असार २०८०, शनिबार
काठमाडौँ:- सातौँ प्रधानमन्त्री कप राष्ट्रिय भलिबल लिगअन्तर्गत पुरुषतर्फको उपाधि हेल्प नेपालले हात पारेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको फाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै हेल्प नेपालले उपाधि हात पारेको हो। अहिलेसम्म अपराजित रहेको हेल्प नेपालले पुलिसमाथि ३–१ को सेटमा जित निकालेको हो।
निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट २५–१९ ले जितेको हेल्प नेपालले दोस्रो खेल ११–२५ ले गुमाउन पुग्यो। तेस्रो र चौथो दुबै सेट २५–१८,२५–१८ ले जित्दै हेल्प नेपालले उपाधि हात पार्यो।
जितसँगै हेल्प नेपालले ६ लाख रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता पुलिसले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ। महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ।
आज भएको फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबमाथि ३–१ को सेटमा जित निकाल्दै पुलिसले उपाधि उचालेको हो। उपाधिसँगै पुलिसले ६ लाख रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता बनेको एपीएफले तीन लाख रुपैयाँमा चित्त बुझाएको छ।