३१ असार २०८०, आईतवार
महोत्तरी:- भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालनमा आएको छ । गत २०७८ चैत २० गतेदेखि जयनगरबाट धनुषाको कुर्थासम्म सञ्चालन हुँदै आएको रेल सेवा आईतवारदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा आएको हो ।
उक्त रेलको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गरेका छन् । कुर्थाबाट बिजलपुरासम्मको निर्माण कार्य सम्पन्न भएकोे रेल्वे ट्रयाक गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनलले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो ।
जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म आईतबारदेखि रेल सञ्चालनमा आएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले रेलबाट राष्ट्रिय झण्डा देखाएर शुरुवात गरे । रेल उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले यात्रुवाहक मात्रै नभएर कार्गो रेलसेवा पनि चाँडै सञ्चालनमा ल्याउने बताए ।
उनले जयनगर बिजलपुरा सीतापुर रेल सञ्चालन यातायात क्षेत्रको नयाँ छलाङ भएको बताए । रेल सञ्चालनले यो क्षेत्रको सामाजिक आर्थिक सुधार हुने उनको विश्वास छ ।
मन्त्री ज्वालाले बर्दिवासदेखि निजगढसम्म यात्रुवाहक रेल पुर्याउने सरकारको प्राथमिकतामा रहेको बताउँदै निजगढदेखि काठमाडौंसम्मको डिपिआर तयारी भएको जानकारी दिए । काठमाडौँसम्म रेलवे निर्माणको लागि सरकार छलफलमा रहेको उनको भनाइ ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जकुमार झाले जयनगरबाट कुर्था हुँदै बिजलपुरासम्म दैनिक एकपटक रेल सञ्चालन गरिने बताए । उनले दैनिक सेवा प्रवाह गरिने भन्दै त्यसबाट विजलपुरा जनकपुर क्षेत्रको सामाजिक–आर्थिक क्षेत्रमा ठूलो परिवर्तन गर्ने पनि उनले बताए ।
जयनगर–कुर्था ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुईपटक आउने र दुईपटक जाने गरेको छ । बिजलपुरासम्मको १७ किलोमिटर रेल्वे ट्रयाक निर्माण सम्पन्न भए पनि १ किलोमिटर रेलमार्ग निर्माण गर्न बाँकी छ । रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो ।
जयनगर कुर्था खण्डमा रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन/हल्ट रहेका छन्। जयनगरबाट कुर्थासम्म कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् भने अब विजयपुरासम्म थप दुई हल्ट र दुई स्टेशन थपिएका छन् ।