३ श्रावण २०८०, बुधबार
काठमाडाैं: -अन्तरजातीय विवाह गरेको भन्दै केटी पक्षका परिवारले केटामाथि कुटपिट गरेका छन्। कैलालीका सरस्वती खड्का र सुरेश विश्वकर्माले चार महिना अघि राजीखुशी विवाह गरेका थिए।
काठमाडौंमा डेरा गरि बस्दै आएका उनीहरूलाई विवाह भएको चार महिनापछि केटीका परिवारले ललाई फकाई बोलाएर पशुपतिको जंगलमा लगेर कुटपिट गरेका हुन्।
उक्त घटनापछि गौशाला प्रहरीमा उजुरी दिन गएका पीडितको प्रहरीले उजुरी नै लिन नमानेको र आफूहरूलाई प्रहरीबाट पनि असहयोग भएको गुनासो गर्दै उनीहरूले प्रहरीको भूमिकामाथि नै प्रश्न उठाउँदै आपत्ति जनाएका छन् । त्यसपछि पीडितहरू आफ्नो ज्यानको सुरक्षा माग्दै राष्ट्रिय दलीत अयोगमा पुगेका छन्।
नेपाल दलीत विद्यार्थी संघका अध्यक्ष राजु सुनारले जातीयतालाई लिएर अहिले पनि यो हदसम्मको विभेद सह्य नहुने भन्दै घटनाको भर्त्सना गरेका छन्। जातीय विभेद अन्त्य भएको भनिएता पनि अझै पनि के उपलब्धि भयो भन्दै उनले प्रश्न गरे। जातीय विभेद अन्त्यलाई राज्य संयन्त्रले गम्भिर रूपमा नलिएको उनकाे गुनासाे छ। अध्यक्ष सुनारले घटनाका दोषीलाई कडा कारबाही गर्न मागसमेत गरेका छन्।