५ साउन २०८० शुक्रबार
नेपालगञ्ज:— बाँकेको नरैनापुर गाउँपालिकाले श्रम स्वीकृति दिन थालेको छ ।श्रम,रोजगार तथा सामाजिक मन्त्रालयको परिपत्र अनुसार शुक्रबारदेखि नै श्रम स्वीकृति दिने प्रक्रिया अघि बढाइएको गाउँपालिकाका रोजगार संयोजक मकबुल अहमद मुकेरीले जानकारी दिए।
संयोजक मुकेरीले भने,— मन्त्रालयको परिपत्रअनुसार शुक्रबारदेखि नै गाउँपालिकाबाट श्रम स्वीकृति दिने सेवा प्रारम्भ गरेका छौ।यसबाट वैदेशिक रोजगारमा जान चाहने युवाहरुलाई काठमाण्डौ गएर श्रम स्वीकृती लिने बाध्यता हट्नेछ। सेवा प्रारम्भ गरेकै दिन ३ जनाले पालिकाबाट श्रम स्वीकृति लिएको संयोजक मुकेरले जानकारी दिए।
वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो तथा सहज बनाउन भन्दै २०८० वैशाख २ गतेदेखि वैदेशिक रोजगारीमा जानेहरुका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्ने कार्य स्थानीय तहको रोजगार सेवा केन्द्रबाट गराउने गत चैत १६ गतेको नेपाल सरकार (प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री) स्तरीय निर्णय भएको थियो ।
गाउँपालिकाबाट श्रम स्वीकृति लिनका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासंग आवश्यक पर्ने कागजात पेस गरेमा श्रम स्वीकृति लिन सक्नेछन।उनका अनुसार कल्याणकारी कोषका लागि एक हजार पाँच सय,बीमाका लागि उमेर अनुसारको शुल्क लाग्ने छ।सामाजिक सुरक्षा कोषको लागि भने शुल्क लाग्ने छैन।श्रम स्वीकृतिको सबै काम अनलाइनमाफर्त हुने र त्यसको सबै जानकारी सम्बन्धित व्यक्तिको मोइबाईलमा पठाईदिने व्यवस्था मिलाईएको संयोजक मुकेरले बताए।
वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य श्रम स्वीकृति लिनु पर्ने व्यवस्था छ ।