८ श्रावण २०८०, सोमबार
काठमाडौं:- एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ‘ए’ले जितेको छ । आइतबार राति भएको खेलमा भारत ‘ए’लाई १२८ रनले हराउँदै पाकिस्तान ‘ए’ले उपाधि उचालेको हो ।
जितको लागि ३ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत ४० ओभरमा २ सय २४ रनमा अल आउट भयो । भारतका ओपनर अभिषेक शर्माले ५१ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६१ रनको योगदान दिए ।
त्यस्तै अर्का ओपनर साई सुदर्शनले २८ बलमा २९ रनमा क्याच आउट भए । त्यस्तै यश विजय धुलले ३९ रन बनाए ।
अन्य ब्याटरले उल्लेखनीय रन जोड्न सकेनन् । पाकिस्तानका सुफियान मुकिनले तीन विकेट लिए ।
अर्शद इकबाल, मेहरान मुम्ताज र मोहम्मद वासिमले समान दुई–दुई विकेट लिए । त्यसअघि पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३५२ रन बनाएको थियो ।
पाकिस्तानको ब्याटिङमा ताहिरले १०८ रनको शतकीय इनिङ खेलेका थिए । साहिबजादा फर्हानले ६५ र सैम आयुबले ५९ रन बनाएका थिए ।
मुबासिर खानले ३५ मोहम्मद वसिमले १७ र मेह्रान मुम्ताजले १३ रन जोडेका थिए । भारतका राजवर्धन हंगरगेकर र रियान परागले समान दुई विकेट लिए ।
हर्षित राना, मानव सुथर र निशान्त सिन्धुले एक–एक विकेट लिए । यी दुवै टिम प्रतियोगिताको समूह ‘बी’मा थिए । समूह चरणमा भने पाकिस्तान भारतसँग ८ विकेटले पराजित भएको थियो ।