८ श्रावण २०८०, सोमबार
दाङ -इलाका प्रहरी कार्यालय गढवाले ७ फिट ४ इन्च लामो बाघको छाला जस्तो देखिने बस्तु बरामद गरेको छ । प्रहरीले राती ८ बजेको समयमा गस्ती गर्ने क्रममा त्यो बस्तु फेला पारि बरामद गरेको थियो।
गढवा गाउँपालिका- ५ जमुनीबासको जंगलमा वेवारिसे अवस्थामा रहेको एक झोला खोलेर हेर्दा उक्त बस्तु फेला परेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनु भयो । बरामद गरेको बाघको छाला जस्तो देखिने बस्तुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीमा पठाइएको छ ।
छाला जस्तो देखिने बस्तु कसले किन त्यहाँ राख्यो भन्ने कुरा खुलेको छैन । पछिल्ला दिनयता अवाञ्छित गतिविधि नियन्त्रण गर्न गढवा प्रहरीले नेपाल भारत सिमा क्षेत्रमा सुरक्षा गस्ती बढाएको प्रहरी निरीक्षक वलीले जानकारी दिनु भयो ।