८ श्रावण २०८०, सोमबार
काठमाडौं:- प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमबाट सफल रहेको बताएका छन् ।
राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित खाद्य प्रणाली शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले दिवा खाजा कार्यक्रमबाट विद्यार्थी भर्ना, उपस्थिति र गुणस्तरमा समेत बढेको जनाए ।
उनले चालु आवमा कुल शिक्षा बजेटको ६ प्रतिशत दिवा खाजामा विनियोजन गरिएको उल्लेख गर्दै यसलाई आगामी दिनमा अझ वृद्धि गरिने प्रतिबद्धता जनाए । यो कार्यक्रमबाट दैनिक रुपमा ३३ लाख बालबालिकाले लाभ लिइरहेको उनले उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले नेपालजस्ता विकासोन्मुख मुलुकमा दिवा खाजा कार्यक्रमले विद्यालय छाड्ने दरमा कमी ल्याउन योगदान गरेको पनि बताए । प्रधानमन्त्री दाहालले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा विशेष सम्बोधन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्रीले राष्ट्रसंघीय उच्च अधिकारीहरुसँग साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम छ ।