१४ श्रावण २०८०, आईतवार
काठमाडौँ:- अमेरिकाले नेपालमा राजनीतिक अस्थिरता, व्यापक भ्रष्टाचार, झन्झटिलो कर्मचारीतन्त्र तथा ऐन नियमहरूको कार्यान्वयनमा एकरुपता नभएकाले नेपालमा सम्भावित वैदेशिक लगानीको वातावरणलाई निरुत्साहित बनाएको जनाएको छ ।
अमेरिकाको परराष्ट्र मन्त्रालयले हरेक वर्ष निकाल्ने ‘लगानीको वातावरणसम्बन्धी प्रतिवेदन २०२३’ को नेपालसम्बन्धी अंशमा लगानीको वातावरण कमजोर रहेको देखाइएको छ ।
‘नेपाल सरकारले वैदेशिक लगानीलाई आकर्षित गर्न तत्पर रहेको सार्वजनिक रुपमा जानकारी गराए पनि त्यसको व्यावहारिक र अर्थपूर्ण कार्यान्वयन अझै भएको छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘कोरोना महामारीमा थपिएको राजनीतिक अस्थिरताबीच नेपाल वैदेशिक लगानीको आकर्षक गन्तव्य हुन सक्थ्यो । तर माथिका चुनौतीहरूका बावजुद पनि नेपालमा पछिल्ला वर्षहरूमा प्रत्यक्ष लगानीमा भने वृद्धि भएको छ ।’
प्रतिवेदनमा ऐतिहासिक रुपमा केही अमेरिकी कम्पनीहरूले नेपालमा लगानी गरिरहेको र नेपालमा वैदेशिक लगानी गर्ने देशमध्ये अमेरिका शीर्ष १० मा पर्ने उल्लेख छ । अमेरिकाले नेपालको वैदेशिक लगानीको २।९ प्रतिशत हिस्सा ओगटेको छ ।
प्रतिवेदनको सारांशमा नेपालको वार्षिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) करिब ३६.३ बिलियन अमेरिकी डलर छ भने कुल व्यापार १५.९ बिलियन अमेरिकी डलर छ भन्ने उल्लेख गरिएको छ ।