१५ श्रावण २०८०, सोमबार
दाङ:- साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।
साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो ।
दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन् ।
यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ ।
हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।
साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ ।
यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन भने छैन ।
ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो ।
अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।
चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ । साबुदाना–सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ ।
खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।
नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरेको छ ।
नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।
दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।
बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४ दशमलव ७ प्रतिशत ल्याक्टोज र ३ दशमलव ५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।
पकाउने तरिका
खीर बनाउनुपूर्व नै चामललाई आधा घण्टाभन्दा बढी समय भिजाउनु पर्छ । भिजेको चामलमा खीर पकाउँदा बढी स्वादिष्ट हुन्छ । खीरका लागि चामल जुनसुकै भए पनि भए पनि हुन्छ । तर, पुरानो चामलभन्दा नयाँ चामलको खीर बढी मीठो हुने गर्छ ।
यदि तपाईं अलि पुरानो विधिबाट खीर पकाउन चाहनुहुन्छ भने घरमा मिलमा कुटाएको चामललाई घ्यूमा मोलेर पनि केहीबेर राख्न सक्नु हुन्छ । र, त्यो चामललाई खीरमा प्रयोग गर्न सक्नुहुन्छ ।
खीर पकाउने भाँडो चाहिँ बाक्लो हुनुपर्छ । पातलो भाँडोमा खीर पकाउँदा डढ्ने समस्या हुनसक्छ । खीर पकाउनुअघि चामलभन्दा डेढतिहाई पानी उमाल्नुस् र त्यो पानीमा केहीबेर चामललाई पकाउनुस् । थोरै पाकेको चामलमा सबै दूध हाल्नुस् र चलाउन थाल्नुस् । यसरी खीरलाई चलाउँदा दूध उम्लेर माथि आउने गर्छ । यो बेलामा आगोको ज्वाला कम गर्ने र खीर बाक्लो नहुन्जेलसम्म चलाइराख्नुपर्छ । अर्को तरिकाले उम्लेको दूधमा सीधै भिजाएको चामल पनि हाल्न सकिन्छ ।
चामलमा दूध निकै घटेर खीर बाक्लो हुँदै गएपछि तेजपत्ता हाल्नुस । तेजपत्ताले खीरको स्वादलाई बास्नादार बनाउँछ । खीर बाक्लो हुँदै आएपछि यसमा चिनी राख्नुस् र, मजाले चलाउनुस् । खीर पकाउँदा शुरूमै चिनी राख्नु हुँदैन । शुरूमा चिनी राखियो भने खीर डढ्न सक्छ ।
चिनी हलिसकेपछि पहिल्यै राखिएको तेजपत्तालाई निकालिदिनुस् । अब खीरलाई अझ बास्नादार र स्वादिष्ट बनाउनका लागि अलैंचीको धुलो, बदाम, काजु, नरिवलको टुक्रालगायतका सामग्री हालिदिनुस् र, राम्ररी चलाउनुस् । एकछिन पुनः खीर पाक्नलाई छोडिदिनुस् । अब खीर बाक्लो भएर राम्ररी पाकेपछि त्यसमा एक चम्चा घ्यू हालेर राम्ररी चलाइदिनुस् ।
यति गरिसकेपछि खीर खानका लागि तयार हुन्छ । अब ग्यासको फ्लेमलाई बन्द गर्नुहोस् । अनि तातो-तातो खीर सर्भ गर्न सक्नुहुन्छ ।
आवश्यक सामाग्री
चामल, दूध, चिनी, तेजपत्ता, काजु, बदाम, किसमिस, सुकेको नरिवलको टुक्रा, दालचिनी, पकाउनका लागि बाक्लो भाडो
खीरसँग आलुको अचार
खीरका साथमा तपाईंलाई नुनिलो परिकारको पनि आवश्यकता पर्छ, अन्यथा दुई-चार गाँसमै अमन हुन्छ । खीरको सहायक परिकारका रूपमा आलुको भुजिया र आलुको अचार सबैभन्दा उत्तम मानिन्छ ।
अचार भन्नसाथ हामीलाई मुखमा पानी आइहाल्छ । र, सम्झन्छौं जिब्रोमा झुण्डिने ट्वाक्क परेको अमिलो र पीरो अचार । हामीले खाने खीरसँग आलुको अचार पनि भयो भने सुनमा सुगन्ध हुन्छ ।
आलुको अचार बनाउन चाहिने सामग्री
आलु, काँक्रो, गाजर, हरियो कोसा वा सुकेको केराउ भिजाएको, प्याज, हरियो खुर्सानी, हरियो धनियाँ, तिलको छोप, मेथी, लसुन, जिरा, नुन (स्वाद अनुसार), बेसार । छोपका लागि तिल, सिलाम, आलस प्रयोग गर्न सकिन्छ ।
तिललाई केहीबेर भुट्ने र त्यही प्यानमा अलिकति जिरा र सुकेको खुसार्नी पनि भुट्नुस । त्यसपछि तिल, खुसार्नी र जिरा ओखलमा वा मिक्सचरमा पिसेर धुलो बनाउनु पर्छ ।
बनाउने तरिका
उसिनेको आलुलाई राम्ररी मिच्ने, हरियो काँक्रो र गाजरलाई सानो सानो टुक्रामा मसिनो गरी काट्ने । र, एउटा कचौरा वा भाँडोमा केराउ, काँक्रो, आलु र गाजर हालेर मोल्ने । अनि स्वादअनुसार नुन हाल्ने र राम्ररी चलाउने ।
यसरी बनाएको अचारमा तिलको छोप र खुर्सानी पनि हाल्दिनुहोस् । अब अचार झान्नुपर्छ । अचार झान्नका लागि एउटा प्यानमा तेल तताउने र त्यसमा मेथीलाई कालो हुन्जेलीसम्म फुराउनु पर्छ । फुराएको मेथीमा वेसार हाल्दिनुहोस् । अब मेथीसहितको तातो तेलमा हरियो धनियाँ राखेर अघि तयार गरेको अचारमा झान्नुहोस् । यसरी तेल र मेथीले अचार झानीसकेपछि राम्ररी फेरी चलाउनुहोस् ।
अब खीरका लागि अचार तयार भयो । स्वादिष्ट खीरसँगै अचार छेउमा राखेर मिठो मानी-मानी खानुहोस् ।
