१७ श्रावण २०८०, बुधबार
भोजपुर:- भोजपुरमा साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ । भोजपुर नगरपालिका वडा नं ११ र १२ को सिमानामा रहेको अखुवा खोलामा माछा मार्न संगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जना कारागार चलान र एक जना बालकलाई बाल सुधार गृह विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक शरत कुमार थापा क्षेत्रीले बताए ।
जिल्ला अदालत भोजपुरले साउन १६ गते मंगलबार भएको थुनछेक आदेश अनुसार पक्राउ परेका प्रतिवादीहरु भोजपुर नगरपालिका–११ का २२ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका २३ वर्षीय उमेश कार्की, वडा नं १२ का २९ वर्षीय सुमन श्रेष्ठ, सोही ठाउँका ३२ वर्षीय मणि प्रधान र मोरङको सुन्दर हरैँचा नगरपालिका–८ का २२ वर्षीय रोजिश कार्की कारागार चलान भएका छन् भने भोजपुर नगरपालिका–११ का १६ वर्षीय बालकलाई बाल सुधार गृह विराटनगर पुर्पक्षको लागि पठाईएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए । उनीहरुविरुद्ध ज्यानसम्बन्धी कसुर तथा हातहतियार खरखजना मुद्दा अन्तर्गत अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
गत असार २२ गते भोजपुर नगरपालिका १२ पैयापानीका १९ वर्षीय दिप्सन प्रधान सहित सातजना वडा नं ११ र १२ को सिमानामा रहेको अखुवा खोलामा माछा मार्न गएका थिए । छजना साथी घर फर्किए पनि प्रधान नआएपछि खोजी गर्दा उनी भोजपुर–१२ अखुवा खोलाको किनारमा बालुवाले पुरिएको अवस्थामा फेला परेका थिए ।