१९ श्रावण २०८०, शुक्रबार
मुगु:- भारतकाे केदारनाथ गाैरीकुण्डमा पहिराेले हाेटल बगाउँदा जुम्लाकाे पातरासी गाउँपालिकाकाका ११ जना बेपत्ता भएका छन् । केदारनाथमा रहेका आफन्तसँग बुझ्दा हालसम्म ११ जना बेपत्ता रहेकाे पातरासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बाेहाेराले बताएका छन् ।
उनले भने, ‘हालसम्म ११ जना बेपत्ता भएकाे खबर आएकाे छ। अरु पनि धेरैजना बेपत्ता छन् भन्ने सुनिन्छ।’ बेपत्ता हुनेमा तिला, तातोपानी र पातरासीका बढी रहेकाे बुझिएकाे र याे संख्या अझै ठूलाे हुनसक्ने उनले बताए ।
पातसारी गाउँपालिकाकाे वडा नम्बर २ र ३ का गरी ११ जनाकाे पहिचान भएकाे पालिकाकी उपाध्यक्ष जनमाया राेकायाले बताइन् । उनका अनुसार एकै घरका सात जना बेपत्ता भएका छन् ।
उता भारतीय मिडियामा भने जुम्ला र हुम्ला जिल्लाका १० जना बेपत्ता रहेकाे जनाइएकाे छ । उनीहरूकाे विवरण संकलन भइरहेकाे जनाइएकाे छ ।