अरुणकुमार नेपाली
२८ श्रावण २०८० आइतबार
दाङः— मन्त्रीपरिषदबाट स्वीकृत भइसकेको तर संसदमा पेस हुन नपाउदै विवादित बनेको प्रस्तावित संघीय शिक्षा ऐनको विरोधमा शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले आन्दोलनको सुरुवात गरेको छ ।सबै शिक्षक संघ,संगठनको साझा संस्था नेपाल शिक्षक महासंघले शिक्षा ऐनका कैयौं बुँदामा असहमति जनाउदै आइतबारदेखि पूर्व घोषित कार्यक्रम अनुसार आन्दोलन सुरु गरेको हो ।
विरोधका कार्यक्रम अन्तर्गत महासंघले देशका ७५३ वटै पालिकामा पालिकास्तरीय धर्ना दिएको छ ।आज बिहान ११ बजेदेखि २ बजेसम्म सबै स्थानीय पालिकामा महासंघको अगुवाइमा धर्ना दिइएको नेपाल शिक्षक महासंघले जनाएको छ ।
सरकारले ल्याउन लागेको शिक्षा ऐनमा शिक्षकका सेवा सुविधा,सार्वजनिक विद्यालयको स्तरोन्नति लगायत सरकारसँग पटकपटक भएका सम्झौता नसमेटिएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो।शिक्षक संघ,संगठनसँग पटक पटक सरकारले गरेका सम्झौताका अनुसार शिक्षा ऐन आएको भन्दै महासंघ आन्दोलनमा होमिएको हो ।
यसैबीच शिक्षक महासंघको अगुवाईमा दाङका १० वटै पालिकामा पालिकास्तरीय धर्ना दिइएको नेपाल शिक्षक महासंघ घोराही नगर कमिटीका अध्यक्ष निशान्त आचार्यले जानकारी दिए ।आचार्यका अनुसार केन्द्रको घोषित कार्यक्रम अनुसार नै पालिकामा धर्ना दिएर दबाब दिइएको हो ।अध्यक्ष आचार्यले अहिले बाहिर आएको संघीय शिक्षा ऐनको मस्यौदा शिक्षक÷कर्मचारी मैत्री नभएकाले आन्दोलन गर्नु परेको बताए ।
प्रस्तावित संघीय शिक्षा ऐनको विरोधमा शिक्षक महासंघले सुरुवात गरेको आन्दोलनमा नेपाल शिक्षक संगठन तुलसीपुर नगरकमिटीले ऐक्यबद्धता जनाएको छ । नगरकमिटीका अध्यक्ष होमराज डाँगीले आन्दोलनमा गोलबद्ध हुन समेत सम्पूर्ण शिक्षक संघ,संगठनलाई आग्रह समेत गरेका छन । सरकारले ल्याउन लागेको शिक्षा ऐन शिक्षक र विद्यालय कर्मचारीहरुको लागि घातक भएको बताउदै अध्यक्ष डाँगीले शिक्षक महासंघले थालेको आन्दोलन जायज भएकाले आफ्नो संगठनको पूर्ण समर्थन रहेको बताए ।