प्रदीप गुप्ता
३० श्रावण २०८० मंगलबार
नेपालगञ्जः—नेपालगञ्ज उद्योग वाणिज्य संघ चुनावी संघारमा छ । यहि भदौ २ गते आगामी नेतृत्व चयनका लागि संघको निर्वाचन हुदैछ । निर्वाचनको मिति नजिक आएसंगै उम्मेदवारहरुलाई भ्याइ नभ्याइ छ । उनीहरु भोट माग्न दिनहुँ मतदाताहरुको घरदैलो र भेटघाटमा व्यस्त छन् ।
यसपटकको निर्वाचनमा दुई प्यानलबीच रोचक प्रतिस्पर्धा हुदै छ ।टंकबहादुर धामीले नेतृत्व गरेको समावेशी प्यानल र ललित कुमार रौनियारले नेतृत्व गरेको साझा प्रजातान्त्रिक प्यानलबीच नेपालगञ्ज उद्योग वाणिज्य संघको भावी नेतृत्वका लागि रोचक प्रतिस्पर्धा हुदै छ । संघको निर्वाचन आउन करिब एक हप्ता बाँकी रहँदा विभिन्न अडकलबाजी समेत भइरहेको छ ।
व्यवसायी र मतदाताहरुको मत सर्वेक्षणलाई हेर्दा अहिलेसम्म धामीले नेतृत्व गरेको समावेशी प्यानल नै विजयी हुने सम्भावना देखिन्छ । धामी अहिले नेपागञ्ज उद्योग वाणिज्य संघको प्रवक्ता छन भने रौनियार पटक पटक उद्योग वाणिज्य संघको अध्यक्ष पदमा लड्दै आएपनि पराजित हुँदै आइरहेका छन ।पटक—पटक चुनावमा पराजित भएका कारण पनि धेरै मतदाताहरु रौनियारको पक्षमा खुलेको देखिदैनन् ।उक्त कुराले रौनियार फेरी पनि पराजित बनाउने कतिपयको विश्लेषण रहेको छ ।पश्चिम नेपालकै सबै भन्दा ठुलो औद्योगिक क्षेत्रको रुपमा रहेको नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदसंगै महासचिव पदमा कसले बाजी मार्ला ?यो विषयलाई पनि निकै चासोका साथ हेरिएको छ ।
बाणिज्य संघको महासचिव पदमा समावेशी प्यानलबाट भीमबहादुर रानाभाट र साझा प्रजातान्त्रिक प्यानलबाट टंकप्रसाद शर्मा चुनावी प्रतिस्पर्धामा भिड्दै छन् ।
को हुन भीमबहादुर रानाभाट ?
आजभन्दा २७ वर्षअघि २०५३ सालबाट व्यवसायिक पेसा सुरु गरेका रानाभाट एक प्रतिष्ठित व्यापारी हुन।उनी नेपालगञ्ज स्थित निरन्तर कालिका इम्पोरियमका सञ्चालक हुन ।उद्योग व्यवसायलाई राम्रोसंग बुझेका रानाभाटले विगत लामो समयदेखि यसै क्षेत्रको विकास र प्रबद्र्धनमा आफूलाई समर्पित गर्दै आइरहेका छन ।व्यवसायीक क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न सधै अग्रपंक्तिमा रहिरहने भएकाले पनि रानाभाट सबै माझ निकै लोकप्रिय छन् ।
रानाभाट अहिले नेपालगञ्ज उद्योग वाणिज्य संघको सदस्य समेत हुन ।संघमा कार्य अनुभव गरिसकेका उनी यसपटक भने नेपालगञ्ज उद्योग वाणिज्य संघको महासचिव पदमा प्रतिस्पर्धामा छन् । उनका प्रतिस्पर्धी हुन साझा प्रजातान्त्रिक प्यालनका टंक प्रसाद शर्मा ।
रानाभाट व्यवसायी मात्र नभई एक सच्चा समाजसेवी पनि हुन । सानै उमेरदेखि समाज सेवामा हात हालेका उनले विभिन्न संघसस्थामा आबद्ध भएर काम गरिसकेका छन् ।करिब आधा दर्जन संघसंस्थामा नेतृत्वदायि भूमिकामा रहेर रानाभाटले आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन ।
उनीसंग विभिन्न संघ संस्थामा रहेर काम गर्दाको लामो अनुभव छ ।निष्ठा र इमान्दारीताका साथ आफ्नो जिम्मेवारी सजिलै वहन गर्न सक्ने भएकाले पनि उनी सबैको प्रिय बने र दर्जनौ संघ संस्थामा नेतृत्व गर्ने अवसर पाए ।
रानाभाट न्यूरोड टोल सुधार समिति नेपालगञ्जका महासचिव,जुमा स्पोट्स क्लबका संस्थापक अध्यक्ष,खुद्रा व्यवसायी संघ,बाँकेका संस्थापक अध्यक्ष,बर्दियाली सेवा समाज बाँकेका संस्थापक अध्यक्ष र नेपालगञ्ज उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा आबद्ध भएर काम गर्दै आइरहेका छन ।यस बाहेक उनी अन्य संस्थामा पनि आवद्ध भई काम गरिरहेका छन ।
रानाभाटलाई किन जिताउने ?
रानाभाट हाल नेपालगञ्ज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य हुन ।उद्योग व्यवसायीका समस्यालाई नजिकबाट नियालेका रानाभाटले सधै अग्रपंक्तिमा रहेर व्यवसायीको हितमा काम गरिरहे ।
भारतसंग जोडिएको खुल्ला सीमा व्यवस्थापनका लागि रानाभाटले विगत देखि नै आवाज उठाउदै आइरहेका छन र अहिले पनि त्यही कुरालाई मुख्य ऐजेण्डा बनाएका छन ।खुल्ला सीमाका कारण नेपालगञ्ज र त्यस आसपासका व्यापारीले भन्सार सेवा शुल्क लगायत वस्तु आयात र निर्यातमा देखिएका समस्या समाधान गर्न रानाभाटले जहिले पनि अग्रपंक्तिमा रहेर काम गरे ।
उनकै सक्रियता र पहलमा अहिले व्यापारीहरुलाई भार नपर्ने गरी भन्सार शुल्कमा घटाईएको जसका कारण व्यापारीहरुलाई राहत मिलेको छ ।त्यति मात्र होइन नेपालगञ्ज उद्योग वाणिज्य संघको विधान संसोधनमा समेत रानाभाटले दबाबमूलक भूमिका निर्वाह गरेका थिए ।
विभिन्न संघसंस्थामा आबद्ध भएर आफ्नो कुशल कार्यक्षमता देखाइ सकेकाले पनि रानाभाट सबैको रोजाईमा पर्न सक्छन ।व्यवसायको पुनरुत्थानको निम्ति पटक पटक भएका व्यवसायिक आन्दोलनमा समेत रानाभाटले महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन ।
कोरोनाको महामारीले थला परेको उद्योग व्यवसायलाई गतिशिलता प्रदान गर्न र व्यवसायीक क्षेत्रबाट पलायन हुन लागेका कयौं व्यवसायीलाई रानाभाटले सधै प्रोत्साहन गर्ने काम रानाभाटले गरे ।अहिले पनि देशको बिग्रदो अर्थतन्त्रले व्यवसायमा देखिएका समस्या समाधान गर्न रानाभाटले आफ्नो भूमिकालाई निकै सक्रिय बनाएको देखिन्छ ।फलत यहि नेतृत्वदायिक भूमिकालाई मूल्याङ्क गर्दै धेरै जसो मतदाताको रोजाईमा रानाभाट परेको देखिन्छ ।