३० श्रावण २०८०, मंगलवार
काठमाडौँ। कक्षा १२ को परीक्षामा ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४ जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्ड सदस्य सचिव सदस्य सचिव दुर्गा अर्यालले २०७९ को तुलनामा ०.७२ प्रतिशत बढी विद्यार्थीले उक्त जीपीए ल्याएको बताए ।
गत वर्ष ४ हजार १७९ विद्यार्थीले उक्त जीपीए ल्याएका थिए ।
१ लाख ८२ हजार ९२६ विद्यार्थीले नन ग्रेडेड (एनजी) ल्याएका छन् । यो गत वर्षको तुलनामा २.८१ प्रतिशतले कमी आएको सदस्य सचिव अर्यालले बताए । गत वर्ष १ लाख ८८ हजार ४१० विद्यार्थीले एनजी ल्याएका थिए । जुन जम्मा विद्यार्थीको ५१.९० प्रतिशत थियो । यो वर्ष भने ४९.०९ प्रतिशत रहेको बोर्डले जनाएको छ ।
यसैबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ननग्रेड ल्याउने विद्यार्थीका लागि असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । दुई विषयसम्म ननग्रेड ल्याएका एक लाख २३ हजार तीन सय ९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डका परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिए । एउटा विषयमा मात्र ननग्रेड आउनेको सङ्ख्या ७९ हजार पाँच सय ८४ जना छ । कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै अङ्ग्रेजीमा एक लाख नौ हजार पाँच सय २७ जना ननग्रेडेड भएका छन् । नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय पाँच सय रुपैयाँ तिरेर नतिजा पुनर्योग गराउन सक्ने बोर्डले जनाएको छ ।गत वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार आएको बोर्डले जनाएको छ ।