१ भाद्र २०८०, शुक्रबार
गोरखा । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफू बरु सरकार छाड्न तयार रहेको तर भ्रष्टाचारविरुद्धको अभियानबाट पछि नहट्ने बताएका छन् ।
भ्रष्ट र तस्करहरको धम्कीबाट आफू नडराउने बताउँदै उनले सरकारको सुशासन अभियानविरुद्ध त्यस्ता तत्व सक्रिय भएर लागिपरेको बताए ।
शुक्रबार गोरखाको अजिरकोट गाउँपालिका– २, भच्चेकमा निर्माण गरिएको भच्चेक आधारभूत अस्पतालको उद्घाटन गर्दै उनले सरकारको सुशासन अभियान जारी रहेको बताए । केही ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुले धम्की दिँदैमा आफू नडराउने र अभियान जारी राख्ने उनले बताए ।
त्यस्ता समूहले घेराबन्दी गरेर आफूलाई अप्ठेरोमा पार्न खोजे बरु सरकार नै छाड्ने तर सुशासनको अभियान कुनै हालतमा नरोक्ने उनले प्रस्ट पारे ।
उनले राजनीतिक परिवर्तनलाई सामाजिक तथा आर्थिक परिवर्तनसँग जोड्नुपर्ने समेत बताए ।