प्रदीप गुप्ता
९ भदौ २०८० शनिबार
नेपालगञ्जः—अन्ततःनेपालगञ्ज उद्योग वाणिज्य संघको महासचिवमा भीमबहादुर रानाभाटलाई नै विजयी घोषित गरिएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँके र निर्वाचन आयोगको टोलीले रानाभाट नै उद्योग वाणिज्य संघको महासचिव पदमा निर्वाचित भएको भन्दै विजयी घोषित गरेको हो ।
भदौ २ गते सम्पन्न संघको निर्वाचनबाट निर्वाचित रानाभाटालाई ३ गते निर्वाचन आयोगले विजयी घोषणा गरे पनि उनका निकटतम प्रतिद्वन्दी टंकप्रसाद शर्माले मत परिणाममा असन्तुष्टि जनाउदै पुनः मत गणना गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन पेस गरेका थिए ।
तर प्रशासन र निर्वाचन आयोगको सयुक्त बैठकले भदौ ३ गते निर्वाचन आयुक्तले घोषणा गरेको मत परिणालाई मान्यता प्रदान गर्दै रानाभाट नै महासचिवमा निर्वाचित भएको निर्णय गरेको हो ।साथै बैठकले निर्वाचन निष्पक्ष रुपमा सम्पन्न भएकाले पुनः मतगणना गर्नु नपर्ने निर्णय समेत गरेको छ ।खासगरी टंकप्रसाद शर्माले छरिएका मतलाई पुनः गणना गर्नु पर्ने माग गर्दै निवेदन पेस गरेका थिए ।