दाङः— यही भाद्र १६ देखि बुटवलमा हुन लागेको नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको तयारी तीब्र पारिएको छ ।अधिवेशनलाई मध्यनजर गर्दै शनिबार(आज)प्रदेशका सबै जिल्लामा जनवर्गीय संगठनले प्रतिनिधि छनौंट गर्न लागेका छन।
यसैबिच नेकपा एमाले दाङले पनि जिल्लाका दशवटै पालिकामा प्रतिनिधि छनौंट गर्दै छ।जसका लागी पालिकामा विशेष भेलाको आयोजना गरिएको छ । पालिका कमिटीको आयोजना र जिल्लाको संयोजनमा प्रतिनिधि छनौंट लागी जिल्लाका १० वटै पालिकामा विशेष भेला हुने नेकपा एमाले जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिए ।सचिव बुढाथोकीका अनुसार जिल्लाको तर्फबाट निर्वाचन अधिकृतहरु सम्बन्धित पालिकामा पुगिसकेका छन ।
लुम्बिनी प्रदेशमा सबै भन्दा बढि पार्टी सदस्य रुपन्देहीमा छन् । त्यसको पछिपछि दाङमा पनि १२ हजार बढि पार्टी सदस्य छन् । यस हिसाबले दाङबाट पार्टीको तर्फबाट १ सय २५ जनाको हाराहारीमा प्रतिनिधि छनौंट हुने छन् । यसमा एक तिहाइ महिला अनिवार्य हुनुपर्नेछ ।
अन्य समुदायको हकमा १ सय बराबर एक प्रतिनिधि भएपनि दलित समुदायको हकमा ७५ जना बराबर एक प्रतिनिधि हुनुपर्ने व्यवस्था गरिएको एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिए । अध्यक्ष बस्नेतले प्रतिनिधि छनौंट कार्य सर्वसम्मतरुपमा सम्पन्न गर्ने तयारी जिल्लाले गरेको र प्रतिनिधिहरुलाई पार्टीको अपानी अनुसार नै छनौंट गरिने बताए । समावेशीतालाई पनि विशेष ख्याल गरेर प्रतिनिधि छनौंट कार्य सम्पन्न गर्न सबै पालिकालाई अनुरोध गरिएको पार्टी सचिव मनोहर बुढाथोकीले बताए । दाङबाट सबै भन्दा बढि घोराहीबाट ४२ जाना, तुलसीपुरबाट ४० जना प्रतिनिधिहरु प्रदेश अधिवेशनमा सहभागि हुनेछन् ।
यस बाहेक पार्टीले यस पटक जनवर्गीय संगठनको हकमा महासंघ भएको जनवर्गीय संगठनलाई ५ जना र संघ भएकोलाई ३ जना प्रतिनिधि पठाउने व्यवस्था गरेको छ । जसमा एक तिहाई अनिवार्य महिला सहभागिता हुनुपर्नेछ । जनवर्गीय संगठनको प्रतनिधि छनौंट पनि आज नै हुने बताइएको छ।
प्रतिनिधि छनौंटका लागि पालिकाहरुले आ–आफ्नो तर्फबाट तयारी गरेका छन् । विहान ११ बजे दाङका दशवटै पालिकामा एकैसाथ प्रतिनिधि छनौंट कार्यक्रम हुनेछ ।अधिवेशनमा १२ जिल्लाका एक हजार बढि प्रतिनिधि र हजारौ कार्यकर्ता, शुभेच्छुकको सहभागिता हुने उक्त पार्टीले जनाएको छ ।