अरुण कुमार नेपाली
१० भदौ २०८० आइतबार
दाङ:-तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ ले ऐलानी जग्गाको नगर सेवा उपभोग कार्ड वितरण गर्ने कार्य सुरु गरेको छ।वडाले आइतबारबाट उक्त कार्यको सुरुवात गरेको वडाध्यक्ष मोहन पौडेलले जानकारी दिए।उनका अनुसार पहिलो सेवा सोही वडाको भित्तावाङ निवासी चितली नेपालीले लिएकी छन्।
नेपालीले १० कठ्ठा अव्यवस्थित जमिनको कर बुझाई नगर सेवा उपभोग कार्ड लिएकी हुन ।यसैबिच वडाध्यक्ष पौडलले तुलसीपुर उपमहानगरपालिकाले सुरुवात गरेको नगर सेवा उपभोग कार्ड लिन वडाबासीलाई आग्रह गरेका छन।
वडाध्यक्ष पौडेलका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी,अव्यवस्थित बसोबासी र खेतीयोग्य ऐलानी जग्गा उपभोग गरिरहेकाहरुलाई सेवा उपभोग कार्ड वितरण गरिने छ।उनले आवासीय तथा खेतीयोग्य ऐलानी(अव्यवस्थित)जग्गाको अभिलेख कायम गराउन वडाका नागरीकलाई आग्रह समेत गरेका छन।सुकुमबासी समस्या समाधान गर्नको लागि नगर सेवा उपभोग कार्ड वितरण गरिएको पनि वडाध्यक्ष पौडेलले बताए।
तुलसीपुरका १९ वटै वडामा यो कार्ड वितरण गरिनेछ।कार्ड वितरण लगत्तै जग्गाको नाप नक्साङ्क गरिने र सोही अनुसारको विवरण नगरपालिकामा पेस गरिने अध्यक्ष पौडेलले बताए।त्यसपश्चात नगरपालिकाले सबै वडाबाट प्राप्त विवरणका आधारमा राष्ट्रिय भूमि आयोगलाई समस्या समाधनका लागि आग्रह गर्नेछ ।
नगर सेवा उपभोग कार्ड वितरणले सुकमबासी समस्याल समाधन गर्न टेवा पुर्याउने वडाध्यक्ष पौडेलको विश्वास रहेको छ।नगर सेवा उपभोग कार्ड पाउने भएपछि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु र ऐलानी जग्गा उपभोग नागरीकहरु खुशी भएका छन।उनीहरु चाँडै लालपुर्जा पाउने आशामा समेत बसेका छन् ।