२१ आश्विन २०८०, आईतवार
काठमाडौं।प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको श्रृंखलाबद्ध आक्रमणपछि दक्षिणी इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने सरकारले बताएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार ४ हजार ५०० नेपाली इजरायलमा केयर गिभरका रुपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा अन्तर्गत गएका थिए ।कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । सूप विश्विद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए ।नेपाली दूताबासका अनुसार गाजा क्षेत्र नजिक रहेको त्यो क्षेत्रमा हमास समूहबाट आक्रमण भएको छ ।
मन्त्री साउदका अनुसार १७ जना नेपालीमध्ये २ जना सकुशल छन् भने तीन जनाको स्थानीय अस्पतामा उपचार भइरहेको छ ।उनले अघि भने, ‘बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।’इजरायलमा भएको यो घटनालाई सरकारले गम्भीरताका रुप दिएको परराष्ट्रमन्त्री साउदले बताए । उनका अनुसार आइतबार विहान प्रधानमन्त्रीको नेतृत्वमा बसेको बैठकले परराष्ट्रमन्त्रीको नेतृत्वमा समन्वय संयन्त्र बनाएको छ, नेपालीहरुको अवस्था पहिचान, उद्दारसम्बन्धी निर्णय लगायतका सम्पूर्ण कायहरु गर्नेछ ।