२५ आश्विन २०८०, बिहीबार
काठमाडौं । संविधान दिवसको अवसरमा कैद मिनाहा पाएका ज्यान मुद्दाका अभियुक्त रिगल भनिने योगराज ढकालको माफीविरुद्ध दायर रिटमाथि सुनुवाइ सुरु भएको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश श्रेष्ठ तथा न्यायाधीशहरु आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो । पूर्ण इजलासमा क्रमसंख्याअनुसार दोस्रो नम्बरमा रहेको रिटमाथि सुनुवाइ सुरु भएको हो ।
अघिल्लो साता सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको इजलासले सरकारसँग माफीबारेको निर्णय माग गर्नुका साथै राष्ट्रपति कार्यालयबाट सम्पूर्ण सक्कल फाइलसमेत मगाएको थियो। सर्वोच्चले मुद्दालाई गम्भीरतापूर्वक लिँदै महान्यायाधिवक्ता दिनमणि पोखरेललाई आफैं उपस्थित भएर बहस गर्नसमेत भनेको थियो ।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले मुद्दाको फैसला नभएसम्म रिट निवेदक भारती शेर्पासहित मृतक चेतन मानन्धरको परिवारलाई सुरक्षा प्रदान गर्न गृह मन्त्रालयका नाममा आदेश दिएको थियो ।
सर्वोच्चले उक्त रिटलाई अग्राधिकार दिँदै सुनुवाइ हुने व्यवस्था गर्न र उक्त मितिमा आकस्मिक बिदा परेमा वा अन्य कुनै कारणले इजलास नलाग्ने भइ सुनुवाइ हुन नसकेमा सोको भोलिपल्ट सुनुवाइ गर्नसमेत भनेको छ।
सर्वोच्चले यो मुद्दाको पेसी स्थगित नहुने पनि आफ्नो आदेशमै भनेको छ । यो आदेशका कारण अब कसैले पनि मुद्दाको सुनुवाइ स्थगित गराउन निवेदन दिन नपाउने भएको छ।
रिगललाई सजाय मिनाहा भएपछि चेतन मानन्धरकी श्रीमती भारती मानन्धर न्याय माग्दै काठमाडौं आएकी छन् । न्याय नपाएसम्म घर नफर्किने उनको भनाइ छ ।
२०७२ असार २८ गते रिगल र उनको समूहले भारतीका श्रीमान् चेतन मानन्धरलाई नेपालगन्जको धम्बोझी चोकमा खुँडा प्रहार गरी हत्या गरेको थियो। तरुण दल बाँके-३ का तत्कालीन सभापतिसमेत रहेका रिगल जेल सजाय भोग्दै आएका थिए ।