११ कात्तिक २०८० शनिबार
मुगु— मुगुमा तीन जना छोराछोरीसहित आमाको हत्या भएको घटनाबारे अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेको छ ।
घटनाको थप अनुसन्धान गर्न प्रहरी तालिम केन्द्र नेपालगञ्जबाट खटिएको अपराध अनुसन्धानमा खटिने कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।
हिजोदेखि घटनास्थल सुरक्षित राखेको प्रहरीले आज तालिम प्राप्त कुकुरसहितको टोली पुगेपछि थप अनुसन्धानसहित शव उठाउने तयारी गरेको डीएसपी थापाले जानकारी दिए। चारै जनाको शव हिजो बिहान नौ बजे फेला परेको हो ।
ज्यान गुमाउनेहरुमा २८ वर्षकी श्रीदेवी बोहोरा, उहाँका ११ वर्षका छोरा मनोज, आठ वर्षकी छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेका छन् । स्थानीय धर्मी बोहोराका अनुसार उनीहरु बुधवार बेलुका ४ बजेतिर माइतीघर कोटिलाबाट टीका लगाएर घर फर्किएका थिए ।
हत्या गर्नेले घरभित्र हत्या गरेर ढोकामा ताल्चा लगाएर भागेको पाइएको डीएसपी थापाले जानकारी दिए । प्रहरीको प्रारम्भिक अनुसन्धानले धारिलो हतियार र ढुंगा प्रहरी गरी हत्या गरिएको देखाएको छ । केही व्यक्तिमाथि हत्याको आशङ्का गरिएको र उनीहरूको निगरानीमा सादा पोसाकका प्रहरी खटिएको डीएसपी थापाले बताए।
श्रीदेवीका श्रीमान् दीपक बोहोरा भने वैदेशिक रोजगारीका लागि कतारमा रहेकाछन ।