१८ कात्तिक २०८० शनिबार
जाजरकोट । जाजरकोटमा शुक्रबार रातिको गएको भूकम्पबाट ५४ जनाको मृत्यु भएको छ । बिहान साढे ५ बजेसम्मको प्राप्त विवरणअनुसार रुकुममा २८ जना र जाजरकोटमा २६ जनाको मृत्यु भएको छ ।
शुक्रबार राति ११ः४७ बजे जाजरकोटलाई केन्द्र बिन्दू बनाएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पबाट ठुलो मानवीय र भौतिक क्षति हुुन पुगेको हो ।
रुकुम पश्चिमका डीएसपी नमराज भट्टराईका अनुसार रुकुममा मात्र २८ जनाको मृत्यु पुष्टि भएको छ ।
जाजरकोटमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित २६ जनाको मृत्यु पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले भने, ‘अहिलेसम्म २६ जनाको ज्यान गएको खबर प्राप्त भएको छ । बाँकी विवरणहरु पनि आइरहेका छन् ।’
पछिल्लो विवरणअनुसार जाजरकोटमा १४ महिला र १२ पुरुषको मृत्यु भएको छ । ३८ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । भूकम्पबाट सख्त घाइते भएका आठ जनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।
जिल्ला अस्पताल बिरामीले भरिएका छन् । भूकम्प गएसंगै सर्वसाधारणहरुको बिचल्ली भएको छ । अहिले उद्धारको काम चलिरहेको छ ।