१८ कार्तिक २०८०, शनिबार
जाजरकोट। गएराति भएको भूकम्पमा जाजरकोट र रुकुमपश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या १ सय २८ पुगेको छ । यस्तै भूकम्पबाट १ सय ४० जना घाइते भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको छ । यस्तै ५५ जना घाइते छन् । घाइतेहरुमध्ये ५ जनलाई थप उपचारका लागी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ ।
त्यसैगरी छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । भूकम्पमा परी रुकुमपश्चिममा ३६ जनाले ज्यान गुमाएका छन् भने ८५ जना घाइते छन् । यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टर मार्फत उद्धार गर्ने तयारी भइरहेको छ । बाँकी अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा भइरहेको बताइएको छ ।
तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धार लगायतका काम भइरहेको दुवै जिल्लाका सुरक्षा प्रमुखहरूले बताएका छन् । भूकम्पका कारण मध्य पहाडी लोक मार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठविसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ ।