
माघ,२६ काठमाडौँ — बेलायतबाट नेपालमा अर्को भ्रमण हुने भएको छ । बेलायतका विदेश, राष्ट्रमण्डल र विकास कार्यालयका राज्यमन्त्री एन्ड्रयु मिचेलले आगामी सोमबार र मंगलबार नेपाल भ्रमण गर्न लागेका हुन् । एक साताअघिमात्र बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्स नेपाल भ्रमण गरी फर्केका थिए ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उक्त अवसरमा राज्यमन्त्री मिचेलले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री प्रकाशशरण महतलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री एनपी साउद भने अस्ट्रेलिया र न्यूजिल्यान्ड भ्रमणमा निस्किसकेका छन् । मन्त्रालयको तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले राज्यमन्त्री मिचेलसँग भेटवार्ता गर्ने छिन् ।
नेपाल र बेलायतबीच सन् १९२३ को शान्ति तथा मैत्री शान्ति हस्ताक्षर भएको थियो । उक्त सन्धिमा हस्ताक्षर गरेको सय वर्ष पुगेको अवसरमा बेलायतबाट नेपालमा भ्रमणहरु बढिरहेका छन् । बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्सले माघको तेस्रो साता नेपालको चार दिने भ्रमण गरी फर्केका थिए ।