२०८० फागनु १३,आइतबार
काठमाडौँ : गृह मन्त्रालयमा सरकारी वार्ता टोली र मिटरब्याजपीडितहरुबीच आज (आइतवार) औपचारिक वार्ता शुरु भएको छ। मिटरब्याजपीडितलाई वार्तामा बोलाएको गृह मन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा २ जना उपसचिव रहेको वार्ता टोली गठन गरेको छ।
सोही वार्ता टोली र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालको तर्फबाट अवधेश कुशवाहाको नेतृत्वमा गठित ९ सदस्यीय वार्ता टोलीबीच वार्ता शुरु भएको हो।
सडकमा उर्लिएका पीडितहरु सरकारको गोली नै खानुपरे पनि न्याय नपाएसम्म धर्ना नछाड्ने अडानमा छन्।
आन्दोलनमा सहभागी हुन महोत्तरीबाट आएकी मिटरब्याजपीडित गौरीमाया बराइलीले घर बैंकमा धितो रहेको सुनाउँदै सरकारले गोली हाने पनि आफ्नो माग पूरा गरेरमात्र घर फर्किने बताइन्।
अर्का मिटरब्याजीपीडित परेखी महतोले आन्दोलनमा आउँदा मकावानपुरमा कुटपिटमा समेत परेको बताउँदै सरकारबाट न्याय नपाएसम्म काठमाडौँको सडकमा नै बस्ने बताए।
सरकारले मिटरब्याजी साहुजीहरुको तमसुक खारेज र बैंकका धितो फिर्ता नगरेसम्म आन्दोलन नरोकिने उनीहरुको अडान छ।