
बाँके-नेपालगन्ज ९ बैशाख – वडा प्रहरी कार्यालय नेपालगन्जले भन्सार छलि गरि ल्याईएकाे १० लाख भन्दा बढिकाे सामान नेपालगन्ज स्थित घरवारी टोलबाट बरामद गरेकाे छ ।
आइतबार नेपालगंज उप-महानगरपालिका वडा नं.२ घरवारी टोलबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याईएका सामानहरु बरामद गरिएको छ।
घरवारी टोलमा अवस्थित खैरुन निशा शेष घरमा कोठा भाडामा लिई बस्दै नामथर नखुलेका व्यक्तिले भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याईएका सामानहरु लुकाई छिपाई राखिएको अवस्थामा बरामद गरिएको हो ।
वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक हरि बहादुर बि.सी.को कमाण्डमा खटिएको प्रहरी टोली वेवारिसे अवस्थामा रहेका प्लाष्टिक चप्पल, कपडाको बेल्ट, र्याकगजिनको बेल्ट लगायतका सामानहरु बरामद गरिएको हो ।
बरामद गरिएको प्लाष्टिक चप्पल – २८०२ जोर रु.७,००,५००/-, कपडाको बेल्ट ११४० थान, रु.२,५०,८००।–, र्याकगजिनको बेल्ट – २५८ थान, रु.५६,७६०।– गरि अन्दाजी जम्मा भन्सार मूल्य रु.१०,०८,०६०।- (दश लाख आठ हजार साठी रुपैयाँ ) बराबर रहेको प्रहरी निरीक्षक बि.सी ले बताएका छन् ।
विगत लामो समयदेखि भन्सार छलिका अवैध सामान नेपाल प्रहरीले बरामद गर्दै आएको छ । सीमानाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी केही समय देखि मुखदर्शक बनेको छ ।
सिमानाकाको जिम्मेवारी सशस्त्र प्रहरीले लिएपनी चेकजाँच फितलो भएको कारण भन्सार छलीका अवैध सामान नेपाल प्रहरीले बरामद गर्न थालेपछि सशस्त्र प्रहरीको निदहराम भइरहेको छ भने तस्कर हरु मौलाउन थालेका छन् । विभिन्न नाकामा खटिएका सशस्त्र प्रहरी र विओपी पोष्टहरुको अहिले चौतर्फी आलोचना भैइरहेको छ ।
बरामद भएको सम्पूर्ण सामानलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि नेपालगंज भन्सार कार्यालयमा पठाउने तयारी भइरहेको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ ।